साउन १३ नेपाल।

वैदेशिक रोजगारीका लागि सवारी चालकको रुपमा कुवेत आउने नेपाली नागरिकहरुका लागि कुवेतस्थित नेपाली राजदूतावासले अत्यन्त जरुरी सूचना जारी गरेको छ।

राजदूतावासका अनुसार कुवेती सवारी चालक अनुमति पत्र प्राप्त गर्न नेपाल सरकारद्वारा जारी गरिएको सवारी चालक अनुमतिपत्र राजदूतावासबाट प्रमाणित गरी अनुवाद गराउनु पर्ने व्यवस्था छ। त्यसको लागि पहिला यातायात व्यवस्था विभागको अनलाइन पोर्टल प्रयोग गरेर अनुमतिपत्रको आधिकारिकता पुष्टि गरिन्थ्यो।

तर अहिले केही समयदेखि उक्त अनलाइन पोर्टल अवरुद्ध भएको कारणले गर्दा नयाँ व्यवस्था गरिएको राजदूतावासले जनाएको छ।

अब यी कागजात पेश गर्नुपर्ने:
१. सिफारिस पत्र: सम्बन्धित यातायात कार्यालयबाट तयार भई कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, नेपालबाट प्रमाणित गरिएको “To Whom It May Concern – TWIMC” सिफारिस पत्रको सक्कल र प्रतिलिपी।
२. नागरिकता/राहदानी: राहदानी वा नागरिकता प्रमाणपत्रको प्रतिलिपी।
३. कुवेती कागजात: कुवेतको सिभिल परिचय पत्र (Civil ID) वा कुवेती भिसाको प्रतिलिपी।

उक्त कागजातहरु लिएर मात्र कुवेतस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न राजदूतावासले सबै सम्बन्धितलाई अनुरोध गरेको छ।