साउन १३ नेपाल ।
हालै सुनसरी लगायत विभिन्न जिल्लामा भएको दुखद घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकले मुलुकमा सामाजिक सद्भाव कायम गर्न र शान्ति स्थापनाका लागि ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ।
बैठकका मुख्य निष्कर्षहरू:
१. समवेदना र सहानुभूति
घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरिएको छ। घाइते हुने सम्पूर्ण नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
२. सामाजिक सद्भाव र शान्तिको अपिल
नेपालको पहिचान नै विविधताबीचको एकता भएको भन्दै बैठकले समाजमा कायम पारस्परिक भाइचारा खल्बल्याउने कुनै पनि गतिविधिमा नलाग्न सम्पूर्ण नागरिकलाई हार्दिक अपिल गरेको छ। आवेग र मुठभेडले समस्या समाधान नहुने निष्कर्ष निकालिएको छ।
३. शान्तिपूर्ण संवादको आह्वान
लोकतन्त्रमा जटिल समस्या समाधानको एकमात्र बाटो शान्तिपूर्ण संवाद र सहमति भएको उल्लेख गर्दै आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण रूपमा राख्न सबै पक्षलाई आह्वान गरिएको छ।
४. तल्लो तहमा सर्वदलीय संयन्त्र बनाउन निर्देशन
केन्द्रको मात्र प्रयासले शान्ति कायम नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक गर्न निर्देशन दिइएको छ। स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज र प्रशासनलाई जोडेर शान्ति कायम गर्न सक्रिय हुन भनिएको छ।
५. केन्द्रीय तहबाट समन्वय
यस्ता संवेदनशील घटना भविष्यमा दोहोरिन नदिन राजनीतिक दलको केन्द्रीय तह गम्भीर हुने प्रतिबद्धता जनाइएको छ। निरन्तर समन्वय र अनुगमन गरी नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाइएको छ।
६. अफवाह नियन्त्रण र सञ्जालको जिम्मेवार प्रयोग
संवेदनशील समयमा सामाजिक सञ्जालबाट फैलिने भ्रामक समाचार र अफवाहले स्थिति झनै बिग्रने भन्दै आम नागरिकलाई जिम्मेवार भएर सामाजिक सञ्जाल प्रयोग गर्न र सञ्चारमाध्यमलाई तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ।
७. सरकारको ध्यानाकर्षण
नागरिकको जिउ-धनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको भन्दै सरकारसँग संयमता अपनाउँदै परिस्थिति सामान्यीकरण गर्न, निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन गम्भीर ध्यानाकर्षण गराइएको छ।
बैठकमा सहभागी दल
संयुक्त वक्तव्यमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव अरेन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारी लगायतले हस्ताक्षर गरेका छन्।
बैठकले अन्तमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दल एकताबद्ध रहेको सन्देश दिँदै समस्याको दिगो र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्ने दृढ संकल्प व्यक्त गरेको छ।


