साउन १० नेपाल ।
चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवा करारमा लिनको लागि सूचना प्रकाशित गरेको छ। नगर कार्यपालिकाको कार्यालय, बलम्बुले साउन ९ गते पहिलो पटक सूचना निकालेर योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
नगरपालिकाले नगर प्रहरी जवान पदमा कुल २५ जना माग गरेको छ। जसमा खुला तर्फ १६ जना र महिला तर्फ ९ जना रहेका छन्।
आवश्यक योग्यता
नगरपालिकाले तोके अनुसार दरखास्त दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। सेवा निवृत्त सुरक्षाकर्मीको हकमा भने ४५ वर्षसम्मलाई छुट दिइएको छ।
शैक्षिक योग्यता कम्तिमा ८ कक्षा उत्तीर्ण हुनुपर्नेछ। साथै नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नभएको र सरकारी सेवाबाट नहटाइएको हुनुपर्नेछ।
उचाइ, छाती र तौलको मापदण्ड पनि तोकिएको छ। पुरुषको हकमा उचाइ कम्तिमा ५ फिट २ इन्च र तौल ५० केजी हुनुपर्नेछ भने महिलाको हकमा उचाइ ५ फिट र तौल ४२ केजी हुनुपर्नेछ।
दरखास्त सम्बन्धी
इच्छुक व्यक्तिले शैक्षिक योग्यता, नागरिकता र अनुभवको प्रमाणपत्र सहित राजस्व शाखामा ३०० रुपैयाँ दस्तुर बुझाएको रसिद संलग्न गरी बलम्बुस्थित नगरपालिकाको प्रशासन शाखामा दरखास्त बुझाउनुपर्नेछ।
दरखास्त दिने अन्तिम मिति २०८३ साल साउन २५ गते र दोब्बर दस्तुर तिरी बुझाउने अन्तिम मिति साउन ३१ गते तोकिएको छ।
छनोट प्रक्रिया अन्तर्गत शारीरिक तन्दुरुस्ती, लिखित र अन्तर्वार्ता परीक्षा हुनेछ। हलुका सवारी चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ।

