साउन ११ नेपाल ।

नेपाल पत्रकार महासंघले देशका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूलाई समाचार चित्त नबुझेको भन्दै धम्क्याउने र अपमानजनक व्यवहार गर्ने क्रम बढेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघको केन्द्रीय समितिले आज विज्ञप्ति जारी गर्दै यस्ता क्रियाकलाप तत्काल रोक्न र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न माग गरेको हो।

के भएका थिए घटना ?
महासंघका अनुसार साउन १० गते अन्नपूर्ण पोस्ट दैनिकमा ‘कालोकोट लगाएर ठगी धन्दा चलाउँदै अधिवक्ता शाही’ शीर्षकमा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै अधिवक्ता अनिलबहादुर शाही र उनका आफन्तले सोही दैनिकका संवाददाता तथा महासंघ कर्णाली प्रदेश समितिका सचिव विस्नप्रसाद न्यौपानेमाथि अपमानजनक भाषा प्रयोग गरेको, निराधार आरोप लगाएको र गालीगलौज गरेको महासंघको कालिकोट शाखाले जनाएको छ।

त्यस्तै सोही दिन महासंघ कास्की शाखाका सदस्य पत्रकार सुमन ढुंगानालाई राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगरपालिका-३ का वडा समिति सभापति दिनेश आचार्यले सेती रिभर साइड रिसोर्ट सम्बन्धी समाचारलाई लिएर पटकपटक सन्देश पठाएर धम्क्याएको महासंघ कास्की शाखाले जनाएको छ।

महासंघको धारणा र माग
विज्ञप्तिमा महासंघले भनेको छ, “चित्त नबुझेको समाचारको समाधान कानुनी प्रक्रिया वा प्रचलित विधिबाट नखोजी पत्रकारमाथि शारीरिक र मानसिक रूपमा आक्रमण गर्ने, धम्क्याउने र अपमान गर्ने कार्य अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी हो।”

महासंघले यी दुवै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकारहरूले संविधानले दिएको अधिकारअनुसार निर्भीक र निर्वाध रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ।

विज्ञप्तिमा महासंघका महासचिव रामप्रसाद दाहाल ज्यूको हस्ताक्षर रहेको छ।