साउन १० नेपाल ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित व्यवस्थापन अध्ययन स्नातकोत्तर तह पहिलो सत्रको परीक्षा सम्बन्धी प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ। यस घटनापछि संकायले छानबिन समिति गठन गरेको छ।
व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले आज सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार सेमेस्टर प्रणाली अन्तर्गत व्यवस्थापन अध्ययन स्नातकोत्तर तह पहिलो सत्रको संगठनात्मक व्यवहार विषयको परीक्षा २०८३ साल साउन ८ गते भएको थियो।
परीक्षा सञ्चालन भइरहेकै बेला विभिन्न सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षाको मर्यादा र विश्वसनीयतामा गम्भीर प्रश्न उठेको छ। यस विषयमा व्यवस्थापन संकाय डीनको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।
घटनाको वास्तविकता के हो र प्रश्नपत्र कसरी र कसबाट बाहिरिएको हो भन्ने कुराको सत्यतथ्य पत्ता लगाउनका लागि र दोषीमाथि आवश्यक कानुनी कारवाहीको लागि सिफारिस गर्न परीक्षा सञ्चालन समितिको साउन १० गते बसेको बैठकले छानबिन समिति गठन गरेको छ।
यस घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा सञ्चालन प्रक्रियाको सुरक्षा र गोपनीयतामाथि प्रश्न उठाएको छ। छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा आगामी निर्णय लिइने बताइएको छ।

