साउन ७ नेपाल ।
नेपाल पत्रकार महासङ्घले क्षेत्राधिकार नभएको विषयमा वीरगञ्जबाट प्रसारण हुने माई टिभीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्र लेखेको प्रति गम्भीर आपत्ति जनाएको छ। महासङ्घले उक्त पत्र तत्काल फिर्ता लिई संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
महासङ्घको केन्द्रीय समितिले मिति २०८३।०४।०७ मा जारी गरेको प्रेस विज्ञप्तिमा यस विषयमा ध्यानाकर्षण भएको उल्लेख छ।
विवाद के हो ?
महासङ्घको पर्सा शाखाका अनुसार एक महिलाको नागरिकताबाट पतिको नाम हटाइएको समाचारलाई लिएर वीरगञ्ज महानगरपालिका-३१ का वडा अध्यक्षले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले माई टिभीलाई तथ्य पेश गर्न पत्राचार गरेको थियो।
महासङ्घको भनाइ
समाचारसम्बन्धी विषयमा उजुरी सुन्ने अधिकार क्षेत्र प्रेस काउन्सिल नेपालसँग मात्र रहने व्यवस्था रहेको भन्दै महासङ्घले प्रहरीले त्यसको ख्याल नगरी गरेको काम निन्दनीय भएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, “समाचारसँग सम्बन्धित विषयमा उजुरी सुन्ने अधिकार क्षेत्र प्रेस काउन्सिल नेपालसँगमात्र रहेकोमा त्यसको ख्यालै नगरी प्रहरीले गरेको कार्य अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासङ्घ ठान्दछ।”
के माग गर्यो ?
महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा समाचारको विषयमा अनधिकृत रूपमा लेखिएको पत्र फिर्ता लिन र प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरिएको छ।
महासङ्घले यस्ता गतिविधिले पत्रकारितालाई भय र त्रासको वातावरणमा धकेल्ने भएकाले सबै निकाय सचेत हुनुपर्नेमा जोड दिएको छ।

