साउन ७ नेपाल ।

महोत्तरीको जलेश्वर नगरपालिका-३ मलिवारा स्थित एक अटोको पछाडि केही दिनअघि मात्र जन्मिएको जस्तो देखिने नवजात शिशु फेला परेको छ।

जलेश्वर नगरपालिकाले मिति २०८३।०४।०७ मा सार्वजनिक सूचना जारी गर्दै शिशुको आमा/बुवा वा नजिकको हकदार भए ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ।

नगरपालिकाको सूचनाअनुसार मिति २०८३।०४।०७ गते बिहान अन्दाजी ६:३० बजेको समयमा जलेश्वर नगरपालिका वडा नं ३ मलिवारा स्थित दिवाकर पाण्डेको जग्गामा रहेको अटो ग्यारेजमा उक्त शिशु फेला परेको हो।

भारतको बिहार राज्य मखनाहा बस्ने मुलाजी भन्ने मोहम्मद रफिकले सञ्चालन गरेको प्रदेश २-००१ ह १३५३ नम्बरको अटोको सामान राख्ने खाली ठाउँको बिच भागमा कपडाले बेरेर राखिएको अवस्थामा पुरुष जातको नवजात शिशु फेला परेको थियो।

हालको अवस्था
फेला परेको शिशु हाल प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा उपचारार्थ रहेको छ। शिशुको संरक्षण, पालनपोषण तथा उचित हेरचाहको प्रबन्ध गर्नुपर्ने भएकाले नगरपालिकाले हकदावी गर्ने सम्बन्धित पक्षलाई खोजेको हो।

७ दिनको समयसीमा
सूचनामा भनिएको छ, “यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र प्रमाण सहित जलेश्वर नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नुहोला।”

तोकिएको समयभित्र कोही पनि सम्पर्कमा नआएमा वालवालिका सम्बन्धी ऐन, २०७५ को दफा ४९ बमोजिम उक्त शिशुको वैकल्पिक हेरचाहको लागि प्रक्रिया अगाडि बढाइने नगरपालिकाले जनाएको छ।

सूचनामा नगरपालिकाका निः प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ यादवको हस्ताक्षर रहेको छ।