साउन ८ नेपाल ।
नेपाल नोटरी पब्लिक परिषद्ले नोटरी पब्लिकले लिन पाउने सेवा शुल्कको दर सार्वजनिक गरेको छ। परिषद्ले सरकारी ढाँचाका कागजातदेखि नक्कल प्रमाणितसम्मको शुल्क तोकेको हो।
परिषद्का अनुसार नागरिकता प्रमाणपत्र, जग्गाधनी प्रमाणपूर्जा, जन्म दर्ता, विवाह दर्ता र मृत्यु दर्ताजस्ता निश्चित सरकारी ढाँचामा तयार भएका लिखतको प्रतिलिपि प्रमाणित गर्दा प्रति पृष्ठ ३०० रुपैयाँ लिन पाइने छ।
यस्तै कानूनी लिखत, अदालतको फैसला, आदेश र संगठित संस्थाको विधानजस्ता कागजात प्रमाणित गर्न भने प्रति पृष्ठ १ हजार रुपैयाँ तोकिएको छ। यहाँ नेपालीमा १६ अक्षर र अंग्रेजीमा १४ अक्षरका दरले ३०० शब्दसम्मको प्रतिलाई एक पृष्ठ मानिने परिषद्ले जनाएको छ।
निश्चित ढाँचा नभएका स्थानीय तहको सिफारिस र अन्य यस्तै कागजात प्रमाणित गर्दा प्रति पृष्ठ ५०० रुपैयाँ र लिखत प्रमाणित गर्दा प्रति लिखत १ हजार रुपैयाँ शुल्क लाग्ने छ।
विदेशमा रोजगारी, अध्ययन, अनुसन्धान र तालिमका लागि पेश गर्ने शैक्षिक तथा प्राज्ञिक कागजातको नक्कल प्रमाणित गर्दा पहिलो ५ पृष्ठसम्म एकमुष्ट १० रुपैयाँ र त्यसभन्दा बढी भएमा प्रति पृष्ठ ५० रुपैयाँ थप लाग्ने छ।
त्यसैगरी ठेक्का, टेन्डर, कम्पनी दर्ता र संघ संस्थाको दर्ताजस्ता व्यावसायिक प्रयोजनका कागजात नक्कल प्रमाणित गर्दा पहिलो ५ पृष्ठसम्म एकमुष्ट २०० रुपैयाँ र त्यसपछिका पृष्ठमा प्रति पृष्ठ १०० रुपैयाँ शुल्क लाग्ने परिषद्ले उल्लेख गरेको छ।
परिषद्का सचिव प्रकाश गौतमद्वारा हस्ताक्षरित सूचनामा यो शुल्क दर तत्कालदेखि लागू हुने जनाइएको छ।

