साउन ४ नेपाल ।
गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीले लाइसेन्स सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ। कार्यालयले २०८३/०४/०३ मा अत्यन्त जरुरी सूचना जारी गर्दै नयाँ प्रणालीमा जाँदा प्राविधिक समस्या भएको जनाएको हो।
किन स्थगित भयो त?
यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर प्रणाली EDLVRS लाई साउन १ गतेबाट नयाँ प्रणालीमा लगिएको छ। त्यसैले पुरानो प्रणालीबाट हुने सबै काम बन्द गरिएको कार्यालयले जनाएको छ।
नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएसम्मका लागि निम्न सेवाहरू स्थगित गरिएको छ।
कुन-कुन सेवा स्थगित?
१. लिखित परीक्षा: साउन ४ गतेका लागि तोकिएको वर्ग B को लिखित परीक्षा स्थगित
२. नयाँ आवेदन दर्ता: पुरानो पोर्टलबाट नयाँ लाइसेन्स तथा वर्ग थपको लागि साउन ४ देखि ८ गतेसम्म कार्यालय सम्पर्क मिति पाएकाहरूको आवेदन दर्ता र मेडिकल स्थगित
कार्यालयले यसबाट सेवाग्राहीमा परेको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ।
अब के हुन्छ?
कार्यालयले साउन १ गतेपछि हुने लाइसेन्स नवीकरण, राजश्व तिर्ने र नयाँ/वर्ग थपको आवेदन अब नयाँ प्रणालीमार्फत नै हुने र त्यसका लागि कार्यालय धाउनु नपर्ने गरी तयारी भइरहेको बताएको छ।
पुन: परीक्षा, नतिजा र ट्रायलको सूचना भने समस्या समाधान भएपछि कार्यालयको आधिकारिक वेबसाइट tmolkaski.gandaki.gov.np मा प्रकाशित गरिने जनाइएको छ।
सेवाग्राहीहरूलाई अर्को सूचना नआउन्जेल कार्यालय नआउन पनि आग्रह गरिएको छ।

