साउन ४ नेपाल ।

सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीहरूको लागि शैलुङ गाउँपालिकाले अत्यन्त जरुरी सूचना जारी गरेको छ। गाउँपालिकाले २०८३/०४/०४ मा सूचना प्रकाशन गर्दै असोज मसान्तभित्र परिचयपत्र नविकरण नगरे भत्ता कट्टा हुने जनाएको हो।

के गर्नुपर्ने त?
सामाजिक सुरक्षा (तेस्रो) नियमावली २०८२ को नियम ९ बमोजिम सबै लाभग्राहीले आफ्नो परिचयपत्र नविकरण गर्नुपर्ने व्यवस्था छ।

यसपटक नविकरण राष्ट्रिय परिचयपत्रको आधारमा बायोमेट्रिक डिभाइस अर्थात् फिंगर प्रिन्ट र आइरिसबाट हुने भएकाले लाभग्राही आफैं वडा कार्यालयमा उपस्थित हुनुपर्नेछ।

नविकरण नगरे के हुन्छ?
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को दफा ४ को उपदफा ६ अनुसार तोकिएको म्यादभित्र नविकरण नगर्ने लाभग्राहीको नाम राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट एकमुष्ट रूपमा कट्टा हुनेछ।

एकपटक नाम कट्टा भएपछि पुन: लाभग्राही हुन नयाँ आवेदन दिनुपर्ने र नविकरण नगरेको अवधिको भत्ता पनि नपाइने गाउँपालिकाले जनाएको छ।

के-के कागजात चाहिन्छ?
१. नविकरण निवेदन फारम
२. नागरिकताको प्रतिलिपि
३. सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि
४. राष्ट्रिय परिचयपत्र नम्बर
५. बैंक खाता विवरण
६. बालबालिकाको हकमा जन्मदर्ता र संरक्षकको नागरिकता
७. अपाङ्गताको हकमा अपाङ्गता परिचयपत्र
८. ६० वर्ष पुगेको एकल महिलाको हकमा अविवाहित सिफारिस
९. विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता र अविवाहित सिफारिस

कसलाई राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य छैन?
सोही वर्ष उमेर नपुगेको बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त र ९० वर्ष माथिका जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य नहुने गाउँपालिकाले स्पष्ट पारेको छ।

गाउँपालिकाले तोकिएको समयमा बायोमेट्रिक भेरिफिकेसन नगराए भत्ता उपलब्ध नहुने र त्यसको जिम्मेवार स्वयं लाभग्राही हुने जनाएको छ।
थप जानकारीको लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न सकिनेछ।