असार ३१ नेपाल ।

मलेसियामा रोजगारीको सिलसिलामा रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई आफ्नो राहदानी अर्थात् पासपोर्ट सधैँ आफूसँगै राख्न मलेसियास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।

राजदूतावासले मंगलबार एक सूचना जारी गर्दै मलेसियाको प्रचलित कानुन तथा नियमहरूको पालना गर्दै यात्रा र कामको क्रममा पासपोर्ट साथमा राख्न अनुरोध गरेको हो।

राजदूतावासका अनुसार मलेसियामा नेपाली नागरिकलाई रोजगारी प्रदान गर्ने सबै रोजगारदातालाई पनि आफ्ना नेपाली श्रमिकले पासपोर्ट सधैँ आफ्नै साथमा राख्न पाउने व्यवस्था मिलाउन र त्यसको सुनिश्चितता गर्न आग्रह गरिएको छ।

सूचनामा राजदूतावासले कानूनले अनुमति दिएको अवस्था र सम्बन्धित श्रमिकको स्पष्ट सहमति भएको अवस्थामा बाहेक नेपाली श्रमिकहरूको राहदानी आफ्नो नियन्त्रणमा नराख्न रोजगारदाताहरूलाई पनि अनुरोध गरेको छ।

यदि पासपोर्ट रोकियो भने के गर्ने?
यदि कुनै नेपाली नागरिकको राहदानी निजको सहमतिबिना रोजगारदाता वा अन्य कुनै पक्षले आफ्नो नियन्त्रणमा राखेको अवस्था भएमा राजदूतावासको WhatsApp नम्बर +60162472777 वा इमेल labour.eonkl@mofa.gov.np मा जानकारी गराउन राजदूतावासले अनुरोध गरेको छ।

मलेसियाको कानुनको पालना गर्दै नेपाली श्रमिकहरूको अधिकार, सम्मान तथा कल्याणको संरक्षणमा सहयोग पुर्याउनु हुने सम्पूर्ण रोजगारदाता तथा नेपाली नागरिकप्रति राजदूतावासले हार्दिक आभार समेत व्यक्त गरेको छ।