असार २९ नेपाल ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका टहरा तथा संरचना ७ दिनभित्र हटाउन सूचना जारी गरेको छ।
वडा कार्यालय कपनले आज प्रकाशित गरेको सूचनामा जगडोल प्रवेशद्वारदेखि सहिद पार्कको कम्पाउण्ड बाहिरको जग्गा र जगडोल भङ्ग्याङसम्मको नेपाल सरकारको जग्गामा अवैध रूपमा टहरा बनाएर व्यवसाय सञ्चालन गरिँदै आएको उल्लेख छ।
के भनेको छ सूचनामा ?
वडा अध्यक्ष राजु अधिकारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,
“उक्त क्षेत्रमा टहरा लगायतका संरचना निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आउनु भएका व्यवसायीहरूले आ-आफ्नो टहरा लगायतको संरचना ७ सात दिनभित्र आफैं हटाउनु हुन यो सूचना प्रकाशित गरिएको छ।”
नहटाए के हुन्छ ?
सूचनालाई अटेर गरी तोकिएको समयभित्र संरचना नहटाए नगरपालिकाबाटै हटाइने वडाले जनाएको छ।
साथै संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यवसायीहरूबाटै असुल गरिने वडाले चेतावनी दिएको छ।

