असार २९”नेपाल ।
वाग्मती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतको भक्तपुर यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण र प्रयोगात्मक परीक्षा बाहेकका सम्पूर्ण सेवा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरेको छ।
कार्यालयले आज सूचना जारी गर्दै सवारीचालक अनुमति पत्र दर्ता प्रणाली EDLVRS मा समस्या आएको र सो प्रणालीमा सुधारको काम भइरहेको जनाएको छ।
कुन कुन सेवा बन्द ?
सूचना अनुसार हाललाई निम्न सेवा स्थगित गरिएको छ:
१. नयाँ दर्ता
२. वर्ग थप दर्ता
३. सवारीचालक अनुमति पत्र नवीकरण
४. राजस्व भुक्तानी
के खुला छ त ?
कार्यालयले लाइसेन्स वितरण र प्रयोगात्मक परीक्षा भने यथावत सञ्चालन हुने स्पष्ट पारेको छ।
यातायात व्यवस्था विभाग, मिनभवन काठमाडौंबाट प्राप्त जानकारीका आधारमा यो निर्णय गरिएको कार्यालयले जनाएको छ। प्रणालीमा सुधार भएपछि पुन: सेवा सुचारु गरिने पनि सूचनामा उल्लेख छ।
कार्यालय प्रमुख प्रवीण श्रेष्ठले हस्ताक्षर गरेको सूचनामा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालय क्षमाप्रार्थी रहेको पनि जनाइएको छ।

