कात्तिक १४ नेपाल । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोशाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले शुक्रबार राति एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालय समय सकिएपछि पत्रकारलाई पक्राउ गर्ने प्रयास भएको घटनाको विरोध गरेको हो ।

विज्ञप्तिमा पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पूर्जी नदेखाइएको, अदालतको अनुमति नलिएको र अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको उल्लेख छ ।

“प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ,” विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति वा आचारसंहिता सम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरुपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको भएको स्पष्ट पार्दै समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

साथै नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न पनि काउन्सिलले माग गरेको छ ।

सत्यतथ्यमा आधारित रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

प्रेस काउन्सिल प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा काउन्सिलका प्रवक्ता (वरिष्ठ प्रशासकीय अधिकृत) दीपक खनालले हस्ताक्षर गरेका छन् ।