साउन २४ नेपाल ।

नेपाल एल.पी. ग्यास उद्योग संघले अहिले बजारमा देखिएको एल.पी. ग्यासको अभाव कृत्रिम भएको भन्दै उपभोक्ताहरूलाई आतिनु नपर्ने र अतिरिक्त सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ।

संघले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल आयल निगमको पहलमा भारतका विभिन्न रिफाइनरीबाट एल.पी. ग्यासको आयात करिब १५ प्रतिशतले बढेको जनाएको छ। आयात बढेसँगै उद्योगहरूबाट सिलिण्डर रिफिलिङ र बजारिकरणको काम पनि निरन्तर भइरहेको संघको भनाइ छ।

तर ग्यास अभाव हुने हल्लाका कारण केही उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिण्डर सञ्चय र खरिद गर्न थालेपछि बजारमा कृत्रिम अभाव सिर्जना भएको संघले जनाएको छ। यसले गर्दा अति आवश्यक परेका उपभोक्ताले ग्यास नपाएर दौडधुप गर्नुपर्ने अवस्था आएको छ।

*संघका अध्यक्ष दिवान बहादुर चन्द*द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “उपभोक्ताहरूले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुन्छ। आगामी दिनमा पनि एल.पी. ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन।”

संघले ग्यास विक्रेताहरूलाई पनि घरायसी प्रयोगकर्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको छ। साथै आफ्ना सदस्य उद्योग र सम्बन्धित निकायसँग समन्वय गरेर नियमित आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ।

संघले बजारको माग अनुसार ग्यास उपलब्ध गराउन प्रयास भइरहेको भन्दै उपभोक्ताहरूलाई धैर्य र संयम भएर सहयोग गरिदिन पनि अपिल गरेको छ।

Screenshot