साउन १४ नेपाल ।
जिल्लाको सुरक्षा अवस्था खलबलिएपछि धनुषा प्रशासनले चारकिल्ला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीले आज श्रावण १४ गते दिउँसो ३:३० बजेदेखि कर्फ्यू आदेश जारी गरेका हुन्।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६क बमोजिम जारी गरिएको आदेश अर्को सूचना नआएसम्म कायम रहने प्रशासनले जनाएको छ।
कर्फ्यू लागू हुने चारकिल्ला:
• उत्तरतर्फ: लक्ष्मीनिया हाटबजार चोकदेखि पश्चिममा सिनुरजोडा चोक र पूर्वमा लक्ष्मीपुर बगोवासम्म
• पूर्वतर्फ: बेलौनी रोडको एम.क्यू.स्टीलदेखि ५०० मिटर पूर्वको पेट्रोल पम्प, हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म
• दक्षिणतर्फ: नगराईन नगरपालिकादेखि नगराईन चोकसम्म
• पश्चिमतर्फ: सिनुरजोडा-सोहनी-मणिमण्डप-नेपाल नर्सरी-इस्कोन, जनकपुर-दुधमती पुल, बेला र कादरी मस्जिद क्षेत्र
प्रशासनले कर्फ्यू अवधिमा तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा र घेराउमा पूर्ण रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भुइटेलले आदेश उल्लंघन गर्ने जो कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन्।
सुरक्षा निकायलाई आवश्यक सुरक्षा व्यवस्थापन कडा पार्न र सर्वसाधारणलाई घरभित्रै सुरक्षित रहन आग्रह गरिएको छ।

