साउन १४ नेपाल ।
धनुषामा बिग्रदो सुरक्षा अवस्थालाई नियन्त्रण गर्न जिल्ला प्रशासनले नेपाली सेना परिचालन गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले २०८३/०४/१४ गते दिउँसो ३:३० बजेदेखि लागू हुने गरी सेना परिचालनको लागि अनुरोध गरेको हो।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले नेपाली सेना, विष्णुदल गण, महेन्द्रनगर ब्यारेकलाई पठाएको पत्रमा शान्ति व्यवस्था कायम गर्न सेनाको आवश्यकता देखिएको उल्लेख छ।
सेना परिचालन हुने चारकिल्ला क्षेत्र:
• पूर्व: बेलौनी रोड-एम.क्यू.स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प, हुलाकी सडक देखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म
• पश्चिम: सिनुरजोडा-सोहनी-मणिमण्डप-नेपाल नर्सरी-इस्कोन, जनकपुर-दुधमती पुल, बेला, कादरी मस्जिद
• उत्तर: लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चोक, पूर्वमा लक्ष्मीपुर बगोवासम्म
• दक्षिण: नगराईन नगरपालिकादेखि नगराईन चोक वरपरिको क्षेत्र
प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को १(क) २ बमोजिम सेना परिचालन गरेको हो। पत्रमा शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा राख्न आवश्यक परे न्यूनतम सैनिक शक्ति प्रयोग गर्दै गोली हान्ने सम्मको अधिकार सेनालाई प्रत्यायोजन गरिएको छ।
यो आदेश अर्को आदेश नभएसम्म कायम रहनेछ। गृह मन्त्रालयलाई यसको बोधार्थ पठाइएको छ।

