साउन ११ नेपाल ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा मन्त्रालयले दुखद निधनप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “बिरामीको जीवन बचाउन दिनरात सेवामा खटिने स्वास्थ्यकर्मीबाट कुनै त्रुटि भएमा त्यसको छानबिन तथा न्यायका लागि प्रचलित कानूनबमोजिम व्यवस्था छ। तर यसरी हिंसात्मक घटना हुनु स्वीकार्य छैन।”
मन्त्रालयले स्वास्थ्य क्षेत्र संवेदनशील भएको भन्दै सबै अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा, उच्च मनोबलका साथ निरन्तर सेवा सुनिश्चित गर्न वातावरण बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
साथै मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीलाई पत्ता लगाई कानुनी दायरामा ल्याउन र सर्वसाधारणलाई पनि अस्पतालको संवेदनशीलता बुझेर सहयोग गर्न आग्रह गरेको छ।
मन्त्रालयले यस प्रकारका हिंसाका घटनाप्रति ‘शून्य सहनशीलता’ को नीति पुनः दोहोर्याएको छ र सबैलाई संयमित भएर अस्पतालको सेवा सुचारु गर्न आफ्नो तर्फबाट सहयोग गर्न अनुरोध गरेको छ।

