साउन ४ नेपाल ।
बजारमा लेबल नभएका, नक्कली तथा कम गुणस्तरका जुत्ता-चप्पलको बिक्री बढेको भन्दै सरकारले कडा चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज २०८३/०४/०१ मा जरुरी सूचना जारी गर्दै यस्ता सामानको बिक्री वितरण नगर्न-गराउन सबैलाई निर्देशन दिएको हो।
विभागका अनुसार भौतिक पसलदेखि अनलाइन तथा डिजिटल प्लेटफर्मसम्म चोरी पैठारी गरिएका फुटवेयर उत्पादनहरू बिक्री भइरहेको गुनासो र उजुरीहरू प्राप्त भएका छन्।
के भनेको छ सूचनामा?
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ लाई स्मरण गराएको छ।
• दफा ६: उत्पादकले आफ्नो वस्तुमा ऐनले तोकेबमोजिमको लेबल लगाउनुपर्ने
• दफा ८: पैठारीकर्ताले कानुन बमोजिमका शर्त पूरा गरेर मात्र वस्तु भित्र्याउनुपर्ने
• दफा ११: बिक्रेताको दायित्व। उपभोक्ताले गुणस्तरीय वस्तु पाउने अधिकार सुनिश्चित गरिएको
विभागले सम्बन्धित सबै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताहरूलाई कानुनले तोकेको दायित्व पालना गरी मात्र व्यवसाय सञ्चालन गर्न भनेको छ।
कडा कारबाहीको चेतावनी
सूचनामा भनिएको छ, “उल्लिखित कानुन विपरीतका कार्यहरू भएको पाइएमा कानून बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।”
विभागले उपभोक्ताहरूलाई पनि लेबल नभएको, शङ्कास्पद र सस्तो प्रलोभनमा परेर नक्कली सामान नकिन्न आग्रह गरेको छ।
सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन भन्ने नारासहित विभागले बजार अनुगमनलाई थप कडा बनाउने जनाएको छ।

