साउन ३ नेपाल ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मानेर जिल्ला प्रशासन कार्यालय, तेह्रथुम ले साउन २ गते शनिवार र ३ गते आइतवार रातको समयमा सवारी आवागमनमा रोक लगाएको छ।

प्रशासनले आज जारी गरेको सूचनामा उक्त दुई दिन देशका विभिन्न भू-भागमा अति भारी वर्षा भई बाढी, पहिरो र कटानको जोखिम बढ्ने सम्भावना रहेकोले धनजनको क्षति न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जनाएको छ।

प्रशासनका मुख्य निर्देशनहरु:
१. सवारी रोक: साउन २ र ३ गते दुवै दिन राति ७:० बजेदेखि बिहान ५:० बजे सम्म जिल्लाभित्र सबै प्रकारका सवारी आवागमनमा रोक।
२. यात्रा नगर्न आग्रह: उक्त अवधिमा अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध।
३. सतर्कता: नदी, खोला र पहिरोको जोखिमयुक्त स्थानका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सर्न भनिएको छ।
४. तयारी अवस्था: सुरक्षा निकाय, स्थानीय तह र सम्बद्ध आयोजनालाई डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न निर्देशन।

प्रशासनले आपत्कालीन अवस्थामा जिल्ला आपतकालिन सञ्चालन केन्द्रको हटलाइन १२३४ र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

यो सूचना सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण लिम्बु ले हस्ताक्षर गरी जारी गर्नुभएको हो।