साउन २ नेपाल ।
जल तथा मौसम विज्ञान विभागले आज राति भारी वर्षा हुने प्रक्षेपण गरेपछि चितवन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले मिति २०८३/०४/०२ गते शनिबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै नारायणगढ–मुग्लिन–काठमाडौं सडक खण्डका विभिन्न स्थानमा पटक-पटक पहिरो जाने गरेकाले यात्रामा विशेष सावधानी अपनाउन भनेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा हस्ताक्षरित सूचनामा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सुरक्षा निर्देशन दिइएको छ।
प्रशासनले जारी गरेको सुरक्षा निर्देशन:
• अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरिएको छ।
• यात्रा गर्दा बीच बाटोमै अलपत्र नपर्न “गन्तव्यमा जसरी पनि पुग्छु” भन्ने जिद्दी नगर्न र जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित स्थानमा बस्न भनिएको छ।
• मौसमको अवस्था हेरेर कुनै पनि बेला सडक आवागमनमा रोक लगाउन सकिने भएकाले त्यसप्रति सचेत रहन आग्रह गरिएको छ।
• यात्रा झोलामा अतिरिक्त लुगा, सुक्खा खाना, खानेपानी, पावर ब्याङ्क/चार्जर र प्राथमिक उपचारका सामाग्री राख्न सुझाइएको छ।
• नदी किनार तथा बाढी-पहिरोको जोखिमयुक्त क्षेत्रमा बस्ने बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ।
• यात्राको क्रममा समस्या आएमा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न भनिएको छ।
आपतकालिन सम्पर्क नम्बरहरू:
• नेपाल प्रहरी: १००
• सशस्त्र प्रहरी बल: ११४४
• एम्बुलेन्स: १०२
• राष्ट्रिय विपद् व्यवस्थापन हटलाइन: १५
• जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र DEOC, चितवन: ०५६-५२
• जिल्ला प्रहरी कार्यालय, चितवन: ०५६-५२०७३२
प्रशासनले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकता दिन सबैमा अनुरोध गरेको छ।

