साउन २ नेपाल।

उच्च अदालत पाटनले आ.व. २०८२/०८३ मा मुद्दा फछ्यौटमा ऐतिहासिक सफलता हासिल गरेको छ। अदालतले जारी गरेको वार्षिक कार्यसम्पादन प्रतिवेदन अनुसार २ वर्ष र १८ महिना नाघेका सबै मुद्दा शून्यमा झारिएको छ।

कति मुद्दा फछ्यौट भयो ?
अदालतको तथ्याङ्क अनुसार यस आर्थिक वर्षमा:
• जिम्मेवारी सरी आएको: ५,६०९ थान
• नयाँ दर्ता: १०,५३० थान
• जम्मा लगत: १६,१३९ थान
• फछ्यौट: ११,४६८ थान
• फछ्यौट प्रतिशत: ७१.०५% लक्ष्य ६६% रहेकोमा

लक्ष्यभन्दा ८१६ थान बढी मुद्दा फछ्यौट भएको अदालतले जनाएको छ। नयाँ दर्ता भएका मुद्दाभन्दा ९३८ थान बढी फछ्यौट भएकोले बक्यौता मुद्दा घटाउने तर्फ सकारात्मक उपलब्धि भएको छ।

बक्यौता र पुराना मुद्दाको अवस्था
सबैभन्दा ठुलो उपलब्धि पुराना मुद्दा घटाउनमा देखिएको छ:
१. २ वर्ष नाघेका मुद्दा: ० थान – सबै फछ्यौट
२ . १८ महिना नाघेका मुद्दा: ० थान – पहिलो पटक शून्यमा झरेको
३. १ वर्ष नाघेका मुद्दा: ३५३ थान मात्र बाँकी
४. जिम्मेवारी बाँकी: ४,६७१ थान

थुनुवा भएका मुद्दालाई १ वर्ष नाघ्न नदिने गरी प्राथमिकता दिइएकोमा यस्ता मुद्दा ७४० थान फछ्यौट भई १२ थान मात्र बाँकी रहेको छ।

अन्य तथ्याङ्क
• जिल्ला अदालतबाट आएका ३ महिना नाघ्ने निवेदन/प्रतिवेदन १,९४१ थान फछ्यौट, १५ थान मात्र बाँकी
• रिट निवेदन ३,२६३ मा २,६२१ थान फछ्यौट, ६४२ थान बाँकी। ६ महिना नाघेका २५ थान मात्र
• वाणिज्य इजलासबाट सुरु मुद्दासमेत १८ महिना नाघेका सबै शून्य

उच्च अदालत पाटन, उच्च अदालतहरूमध्ये सबैभन्दा बढी मुद्दा भएको अदालत हो। यसले समग्र उच्च अदालतको करिब एक चौथाई भन्दा बढी कार्यभार वहन गर्छ।

श्रेय कसलाई ?
यस उपलब्धिको श्रेय सम्माननीय प्रधानन्यायाधीश डा. श्री मनोज कुमार शर्मा, सर्वोच्च अदालतको अनुगमन, मुख्य न्यायाधीशको नेतृत्व, न्यायाधीशहरू, कर्मचारी, उच्च अदालत बार एशोसिएसन र सरोकारवालाको सहयोगलाई दिइएको छ।

प्रेस विज्ञप्ति उच्च अदालत पाटनका उपरजिष्ट्रार/प्रवक्ता प्रेमप्रसाद पौडेलले मिति २०८३/०४/०१ मा जारी गर्नुभएको हो।