साउन १, नेपाल ।
कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले ७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ।
कार्यालयले मिति २०८३/०३/३२ मा सूचना जारी गर्दै प्रदेश सहकारी ऐन, २०७६ को दफा ७३ को उपदफा (३) बमोजिम संस्थाहरू खारेज गरिएको जनाएको छ।
कार्यालयका अनुसार नियमन क्षेत्राधिकार भित्रका यी संस्थाहरूले विगत दुई वर्षदेखि लगातार विवरण नबुझाई निष्क्रिय अवस्थामा थिए। कार्यालयले मिति २०८२/०५/०२ र २०८२/०९/०२ मा ३५ दिने र २१ दिने सूचना जारी गरेर अघावधिक हुन आह्वान गरेको थियो। त्यसपछि २०८३/०३/०३ मा १५ दिने सफाइको मौका दिँदै गोरखापत्रमा सूचना पनि प्रकाशन गरिएको थियो।
तर तोकिएको अवधिभित्र पनि संस्था सम्पर्कमा नआएको र आवश्यक कानूनी प्रक्रिया नपुर्याइ बन्द गरेको पाइएकाले दर्ता खारेज गर्ने निर्णय गरिएको कार्यालयले जनाएको छ। खारेज गरिएका संस्थाहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको छ।
खारेज गरिएका संस्थाहरूको सूची:
सि.नं. सहकारी संस्थाको नाम ठेगाना दर्ता नं.
१ कोशेली बचत तथा ऋण सहकारी संस्था लि. बेलबारी ११, मोरङ ५६२(२१०)०६२/६६
२ नवजागरण बहुउद्देश्यीय सहकारी संस्था लि. साविक मुर्गौलिया ५, मोरङ ११/०४७/०४८
३ निलकण्ठ कृषि सहकारी संस्था लि. दुहवी २, सुनसरी १(४६२)६१/७०
४ आरोग्य स्वास्थ्य सेवा (अस्पताल) सहकारी संस्था लि. दुहवी ४, सुनसरी १८/०६७/०६८
५ जन्दी महिला कृपक बचत तथा ऋण सहकारी संस्था लि. ईटहरी १९, सुनसरी ४१/०६२/६३
६ आदर्श कृषि सहकारी संस्था लि. ईटहरी १६, सुनसरी ७९/०६२/०६३
७ तिनकुने महिला बचत तथा ऋण सहकारी संस्था लि. रामधुनी ८, सुनसरी ४९(५१२)६१/६०
सूचनामा कार्यालयका रजिष्ट्रार भुपेन्द्र खनालको हस्ताक्षर छ।

