असार ३० नेपाल ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको संस्थापक, स्थानीय र कर्मचारीतर्फको सेयरको लकइन अवधि अबको केही दिनमा सकिँदैछ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएससी एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाउँदै आफ्नो लकइन अवधि २०८३ भदौ ०२ गते मंगलबारका दिन सकिने जानकारी दिएको छ।
के हो लकइन सकिने कुरा ?
कुनै पनि कम्पनीले IPO मार्फत सेयर निष्काशन गर्दा संस्थापक, स्थानीय र कर्मचारीलाई छुट्याइएको सेयर एक निश्चित समयसम्म बिक्री गर्न पाइँदैन। त्यसैलाई लकइन अवधि भनिन्छ।
मनकामना हाइड्रोले सेबोनको निर्देशन बमोजिम २०८०/०८/२५ को पत्र अनुसार यो अवधि तोकेको थियो। अब त्यो अवधि सकिन लागेको हो।
कम्पनीले के भन्यो ?
कम्पनीका संचालक रामहरी बजगाईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ:
“संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुको स्वामित्वमा रहेको सेयरको लकइन अवधि मिति २०८३/०५/०२ गते सकिने व्यहोरा जानकारीको लागि अनुरोध छ।”
साथै कम्पनीले २०८३ असार ३० गतेको आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको सार्वजनिक सूचना पनि सम्बन्धित निकायलाई पठाएको छ।
लगानीकर्तालाई यसको अर्थ के ?
लकइन अवधि सकिएपछि संस्थापक र कर्मचारीले आफूसँग भएको सेयर दोस्रो बजारमा बिक्री गर्न पाउँछन्। त्यसैले भदौ २ गतेपछि मनकामना हाइड्रोको सेयर आपूर्ति बढ्न सक्छ।
हाल कम्पनीको सेयर नेप्सेमा कारोबार भइरहेको छ। लकइन सकिएसँगै बजारमा सेयरको चाप र मूल्यमा उतारचढाव आउन सक्ने भएकाले लगानीकर्ताले यो मितिलाई ध्यान दिनुपर्छ।

