असार २५, नेपाल ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले भन्सार छलि चोरी पैठारी गरी ल्याइएको लत्ताकपडा नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार मिति २०८३ साल चैत २३ गते सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १, बालगंगा टोलस्थित नजरे आलमको घरकोठामा अवैध रूपमा लत्ताकपडा लुकाई छिपाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा भन्सार छलि चोरी पैठारी गरी ल्याइएको अनुमानित मूल्य रु. ४,३५,५७५/- बराबरको लत्ताकपडा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बरामद गरिएका सामानलाई आवश्यक कारवाहीका लागि मिति २०८३ साल चैत २४ गते सर्लाही भन्सार कार्यालय, मलंगवामा बुझाइएको छ।

प्रहरीका अनुसार यस घटनामा संलग्न व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

बरामद गरिएका लत्ताकपडा
प्रहरीले नियन्त्रणमा लिएको सामानको तस्बिर समेत सार्वजनिक गरेको छ।

यो जानकारी जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।