असार २५, नेपाल ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सुर्तिजन्य पदार्थको अवैध बिक्री-वितरण र उपभोग नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। कार्यालयले मिति २०८३/०३/२४ मा “अत्यन्त जरुरी सूचना” जारी गर्दै सुर्ति, खैनी, गुट्खा, बिडी, चुरोट जस्ता पदार्थको विक्रीमा नयाँ मापदण्ड तोकेको हो।
के-के छ नयाँ प्रतिबन्धमा?
१. उमेर सम्बन्धी प्रतिबन्ध: १८ वर्ष उमेर नपुगेका बालबालिका, किशोरकिशोरी र गर्भवती महिलालाई कुनै पनि प्रकारको सुर्तिजन्य पदार्थ बिक्री-वितरण गर्न, लगाउन वा निःशुल्क उपलब्ध गराउन पूर्ण रूपमा निषेध गरिएको छ। यो सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ को दफा १(१) बमोजिम गरिएको हो।
२. स्थान सम्बन्धी प्रतिबन्ध: विद्यालय, कलेज, अस्पताल, हेल्थपोस्ट, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा सरकारले तोकेका सार्वजनिक स्थलबाट १० मिटरको परिधिभित्र रहेका घर, पसल वा व्यवसायबाट सुर्तिजन्य पदार्थ बिक्री-वितरण गर्न पाइने छैन। यो ऐनको दफा ११(३) अनुसार हो।
किन जारी भयो सूचना?
प्रशासनका अनुसार पछिल्लो समय बालबालिका र विद्यार्थीहरुमा सुर्तिजन्य पदार्थको लत बढ्दै गएको छ। यसले उनीहरुको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर परेको गुनासो आएपछि ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यो सूचना जारी गरिएको जिल्ला अधिकारी संजय कुमार पोखरेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
उल्लङ्घन गरे के हुन्छ?
सूचना र कानुनी प्रावधान विपरीत कार्य गरेको पाइएमा सोही ऐनको दफा १७ बमोजिम कडा कानुनी कारवाही र दण्ड सजाय हुने प्रशासनले सचेत गराएको छ।
जिल्ला प्रशासन कार्यालयले महोत्तरीका सम्पूर्ण स्थानीय तह, प्रहरी, उद्योगी, व्यवसायी र सर्वसाधारणलाई यो कानुनी व्यवस्थाको पूर्ण पालना गर्न र नियन्त्रणको महाअभियानमा साथ दिन आग्रह गरेको छ। सम्बन्धित निकायबाट यसको नियमित अनुगमन र निरीक्षण समेत गरिने जनाइएको छ।
सूचना: यो समाचार महोत्तरी जिल्ला प्रशासन कार्यालय, जलेश्वरले जारी गरेको प.सं. २०८२/०८३ को पत्रको आधारमा तयार गरिएको हो।

