असार २४, नेपाल ।
नेपाल सरकारले राहदानी वितरण प्रणालीमा नयाँ प्रविधि लागू गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट प्रदान गरिने राहदानी सेवा ३ दिनका लागि बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज सूचना जारी गर्दै असार २४ देखि २६ गतेसम्म राहदानी सेवा अवरुद्ध हुने जानकारी दिएको हो। यो मिति तदनुसार २०२६ जुलाई ८ देखि १० सम्म पर्छ।

राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी गरिसकेको र हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदै गरेको हुँदा सेवा ३ दिन बन्द गर्नुपरेको कार्यालयले जनाएको छ।

कहिलेदेखि नयाँ प्रणाली?
कार्यालयका अनुसार असार २९ गते अर्थात् २०२६ जुलाई १३ तारिखदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सुचारु हुनेछ।

कहाँ-कहाँ बन्द हुन्छ?
जिल्ला/ईलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने सबै प्रकारको राहदानी सेवा तोकिएको ३ दिन बन्द हुनेछ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासनिक अधिकृत प्रविन कटवालले हस्ताक्षर गरेको सूचनामा सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी गरिएको छ।

राहदानी बनाउन वा नवीकरण गर्न लाग्नुभएका सेवाग्राहीलाई तोकिएको मितिभन्दा अगाडि वा पछि कार्यालयमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।