असार २४ नेपाल ।
आर्थिक वर्षको अन्तिम महिनामा सरकारी कारोबार मिलान र हिसाब बुझाउने समय नजिकिएसँगै महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि नयाँ व्यवस्था गरेको छ। कार्यालयले असार २५ गतेपछि हुने कारोबारका लागि ५ बुँदे निर्देशन जारी गरेको हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७ को नियम ३० बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा ७ दिन अगाडि नै सुशासन निकायमा बन्दव्यवस्था हुने व्यवस्था छ। सोही अनुसार स्थानीय संचित कोष व्यवस्थापन प्रणाली SUTRA मिति २०८२/३/२५ गते राति १२:० बजेपछि बन्द हुने महालेखाले जनाएको छ।

अब के हुन्छ त?
SUTRA बन्द भएपछि स्थानीय तहहरूले २०८२ असार ३२ गतेसम्मको हिसाब मिलान र पेस्की फछ्यौट मात्र गर्न पाउने छन्। नयाँ कारोबार गर्न पाइने छैन।

स्थानीय तहले गर्नुपर्ने ५ काम
महालेखा नियन्त्रक कार्यालयका उप महालेखा नियन्त्रक यज्ञ प्रसाद ढकालले जारी गरेको पत्रमा स्थानीय तहले तोकिएका कामहरू गर्नुपर्ने उल्लेख छ:

१. बाँकी रकम बैंक दाखिला: स्रोतमा कढी भई दाखिला हुन बाँकी रहेको अग्रिम आयकर, मु.अ.कर, पारिश्रमिक कर, ठेक्का कर, कोप, सामाजिक सुरक्षा कोष, योगदानमा आधारित निवृत्तिभरण कोष जस्ता रकम बैंकमा जम्मा गर्नुपर्ने।
२. EFT मिलान: असार २५ गतेसम्म SUTRA बाट भएका तर बैंकले Transfer Reject गरेका EFT हरूको भुक्तानी गर्नुपर्ने।
३. अनुदान निकासा: संघ र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानको रकम कोलेनिका, प्रलेनिका र प्रदेश लेखा इकाइमा असार मसान्तसम्म निकासा गर्नुपर्ने।
४. रकम ट्रान्सफर: स्थानीय तहका खर्च खाता, राजस्व खाता र अन्य खाताबाट संचित कोष खातामा रकम ट्रान्सफर गर्नुपर्ने।
५. पेस्की फछ्यौट: बैंकमा जम्मा गरेको भौचर, सलन र राखी पेस्की फछ्यौट र अन्य रकम समायोजन गर्नुपर्ने।

कार्यालयले आर्थिक वर्षको अन्तिम हिसाब समयमै मिलान गरी पारदर्शिता कायम गर्न सबै स्थानीय तहलाई तोकिएको समयभित्र काम सम्पन्न गर्न आग्रह गरेको छ।