२०८१ फागुन २० काठमाडौ । विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन विपद् व्यवस्थापनसँग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकायहरुको सहभागितामा तीन दिने केन्द्रीय स्तरको एकीकृत अभ्यास, अभ्यास हातेमालोको सातौँ संस्करण जङ्गी अड्डामा आज मिति २०८१ फाल्गुण १८ गते सुरु भएको छ । नेपाली सेनाको अगुवाइमा राष्ट्रिय स्तरमा विपद् व्यवस्थापनका क्षेत्रमा भई रहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि र सरोकारवाला निकायहरू बिच समन्वय तथा सहकार्यको क्षेत्रलाई प्रभावकारी बनाउने उद्देश्यले वि.सं.२०७५ सालबाट वार्षिक रूपमा अभ्यास हातेमालो सञ्चालन हुँदै आई रहेको छ । श्री युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री प्रेमध्वज अधिकारीले उद्‍घाटन गर्नु भएको कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालय लगायत सरकारी निकायका प्रतिनिधि, रेडक्रस तथा गैर सरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको सहभागिता रहेको नेपाली सेनाको समाचारले जनाएको छ ।

(क्रान्ति)