२०८० पौष १८ काठमाडौं । काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज पुस १८ गते बुधवार आफ्नो एघारौं स्थापना दिवस मनाएको छ ।
अस्पतालमा आज आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चेयरम्यान इ. दिपक कुँवरले बिभिन्न आरोह अवरोहका बीच स्थापनाको एघारौं वर्ष सफलतापूर्वक पार गरेको उपलक्षमा अस्पतालका चिकित्सक, सेयर होल्डर, कर्मचारी लगायत सरोकारवाला सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहांले देशको स्वास्थ क्षेत्रको एक अब्बल संस्थाको रुपमा ग्राण्डी अस्पताल रहेको र बिभीन्न अप्ठ्यारो अवस्था पार गर्दै सफलताको बाटोमा अगाड़ी बढेकाले आगामी दिनमा अझ मिहेनेतका साथ लाग्ने बताउनु भयो । चेयरम्यान कूँवरले अस्पतालको निरंतर प्रगति र उन्नतीको लागि आफू र संचालक टीम सदैव तत्पर भै लागिरहने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. बिनोद बिजुक्छेले अस्पतालको आधारशिलाका रुपमा एथिक्समा आधारित उपचार, बिरामी केन्द्रित उपचार र बिभिन्न बिशेषज्ञहरुसँग सहकार्यमा गरिने उपचार यस अस्पतालको आधारशिला भएकाले यस अस्पतालले बिरामीको अहित हुने कुनै पनि कुरामा कदापि सम्झौता गर्न नसक्ने जिकिर गर्नुभयो । सो अवसरमा डा. बिजुक्छेले अस्पतालको एऊटै मात्र उदेश्य गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नु रहेको बताऊनु भयो ।
एघारौं स्थापना दिवसको अवसरमा अस्पतालको सुबिधालाई अझ परिस्कृत गर्दै Department of Dermatolagy & Aesthetics नामक नया सुबिधा सुरु गरीएको छ । यो सुबिधा अन्तर्गत अब देखी ग्राण्डी अस्पतालमा सुलभ मूल्यमा हाइड्राफ़ेसीयल, हेयर रिमूभल, हेयर ट्रान्सप्लांट लगायतका सुबिधा प्राप्त गर्न सकिने छ । बिगतको बर्षमा जस्तै यसपटक पनि अस्पतालले १० बर्ष सेवा गर्नु भएका चिकित्सक नर्स एवं कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । साथै बिभिन्न बिभागमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरेको थियो।
कार्यक्रममा अस्पतालका चिकित्सक, नर्सिङ स्टाफ, मेडिकल स्टाफ तथा कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो ।
यस एघार वर्षको यात्रामा अस्पतालले बहिरंग सेवा ११, ७६, ३८५, आन्तरिक सेवा ७३,०३७ आकस्मिक चिकित्सा सेवा ६३,९२३, एम्बुलेंस सेवा ८,८८१ र हेलिकॉप्टर मार्फत उद्धार १८३७ जनालाई गरेको छ। (क्रान्ति)