लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु, हाल तौलिहवा जिल्लामा इसापूर्व सातौँ शताब्दीताका शाक्य गणतन्त्रका रूपमा प्रख्यात कपिलवस्तुका राजा शुद्धोदन थिए । उनका दुई पटरानीमध्ये जेठी महामायादेवीको कोखबाट इपू ६२३ को वैशाख शुक्ल पूर्णिमाका दिन पवित्र लुम्बिनी उद्यानमा युवराज सिद्धार्थ (सर्वार्थसिद्ध) कुमारको जन्म भएको थियो । करिब २९ वर्षसम्म राजदरबारमा जीवन व्यतीत गरेका उनै सिद्धार्थकुमारले सांसारिक दुःखबाट मुक्त हुने ज्ञानको खोजीमा असार पूर्णिमाको रात महाभिनिष्क्रमण (गृहत्याग) गरे ।
विभिन्न देश भ्रमण गर्दै त्यहाँका आचार्य, गुरुह¬रूको सत्सङ्गतबाट पनि आफ्नो उद्देश्य प्राप्त गर्न नसक्दा उनी आफँै ज्ञानको खोजीमा लागे । आजभन्दा २६१२ वर्ष अगाडि वैशाख पूर्णिमाको रात भारतको बोधगयामा बुद्धत्व प्राप्तिपछि उनैलाई भगवान् बुद्धको नामले पुकारिन थालेको हो । बोधिज्ञान प्राप्तिपछि सो ज्ञानलाई सर्वसाधारणमाझ बाँड्ने क्रममा बुद्धले सर्वप्रथम पञ्चभद्रवर्गीय भिक्षुहरूलाई वाराणसीस्थित ऋषिपतन मृगदावनमा बताएको कुरा वर्णन गरिएको पाइन्छ ।रासस
