राष्ट्रिय मानवअधिकार आयोगले एचआइभी सङ्क्रमितलाई मानवअधिकारको हकबाट वञ्चित नगर्न आग्रह गरेको छ । आयोगले एचआइभी सङ्क्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा सङ्क्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ ।
आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेलले सङ्क्रमितहरुको जीवन र मर्यादा सम्मानित नरहेको आफूले पाएको बताउनुभयो । उहाँले अझ चरम गरिबीको रेखामुनि रहेका सङ्क्रमितहरुको मानव अधिकार अवस्था दयनीय रहेको पाइएको बताउनुभयो ।
उहाँले एचआइभी सङ्क्रमितलाई रोजगार, शिक्षा र समाजिक सहभागितामा र आश्रित सन्तानको लालनपालन, शिक्षा जस्ता आवश्यकता पूर गर्ने समस्या रहेको बताउनुभयो । “राज्यका तीनै तहको औषधि वितरणमा समस्या छैन । सङ्क्रमितलाई रोजगार, शिक्षा र समाजिक सहभागितमा समस्या रहेको छ,” उहाँले भन्नुभयो, “सङ्क्रमित बालबालिकालाई भर्ना नलिएको, सङ्क्रमितको शल्यक्रिया उपचार पनि नगरेको पाइयो ।”
प्रतिवेदनमा पुरुषको तुलनामा सङ्क्रमित महिलाको मानव अधिकार अवस्था थप जटिल रहेको जनाइएको छ । उहाँले भारतमा काम गर्न जाने सङ्क्रमितले सजिलै औषधि नपाएको समेत बताउनुभयो ।
कामु सचिव खरेलले सङ्क्रमितलाई समाजले सहजै स्वीकार गर्न नसकेको, विभेद र लाञ्छनामा परेको भन्दै स्थानीय तहले आफ्नो पालिकामा कति सङ्क्रमित छ भनेर तथ्याङ्क लिन नसकेको पाएको बताउनुभयो । रासस
