प्रसिद्ध शक्तिपीठको रूपमा रहेको गोरखाको गोरखानाथ मन्दिर परिसरमा आजदेखि २०औंँ सवा लाख रोट महोत्सव सुरु भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथलाई मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिन र यहाँको धार्मिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो ।
गोरखनाथ मन्दिरमा दैनिकरूपमा रोट चढाउने प्रचलन रहे पनि विगत २० वर्षदेखि महोत्सवकै रूपमा अगाडि बढाउन थालिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रका संयोजक किशोरकुमार अकेलाले जानकारी दिनुभयो । आजदेखि ११ दिनसम्म चल्ने महोत्सवमा सवा लाख रोट गुरु गोरखनाथलाई चढाइने उहाँले बताउनुभयो ।
गोरखनाथ पहिलोपटक गोरखाको पवित्रस्थल गोरख गुफामा प्रकट हुुनुभएको धार्मिक मान्यताअनुसार यहाँको मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको छ । रोट, भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने गरेको छ । तत्कालीन नेपाल एकीकरणका समयमा सेनालाई प्रसादको रूपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्नाका साथै लामो समयसम्म युद्धमा भिड्न सकेको भनाइ शिलालेखमा उल्लेख छ।
“ खाद्यवस्तुका रूपमा रहेको रोट गुरु गोरखनाथलाई मनपर्ने परिकार हो”, संयोजक अकेलाले भन्नुभयो, “चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनीलगायत ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।” सानो सानो आकारमा तयार गरिने यो रोटलाई नाथ जातिका व्यक्तिहरूले शुद्व भई मन्त्र जप गरेर बीचको भाग उठाएर बनाउने गर्छन् ।रासस
