नेपाल सरकार कोरोना भाइरस विरुद्धको मौज्दात रहेको ‘साइनोभ्याक’ खोप प्रयोग गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को निर्णय पर्खने भएको छ । अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि प्रयोग गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा डब्लुएचओले ‘साइनोभ्याक’ खोपको अनुमति दिएपछि मात्र प्रयोग गर्न भएकाले निर्णय कुरेर बसेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले मौज्दात रहेको ‘साइनोभ्याक’ खोपका सम्बन्धमा डब्लुएचओले निर्णय गरेपछि मात्र प्रयोग गर्न मिल्ने बताउनुभयो । “साइनोभ्याक खोप बुस्टर डोजका लागि त्यति प्रभावकारी रहेको छैन”, उहाँले भन्नुभयो, “त्यही भएर हामीले बुस्टर डोजका लागि प्रयोग गरेका छैनाँै । बुस्टर डोजका लागि प्रयोग गर्नका लागि डब्लुएचओले अनुमति दिनुपर्दछ । अनुमति दिएपछि मात्र हामीले प्रयोग गर्छौँ ।” उहाँका अनुसार डब्लुएचओले अनुमति दिएपछि नेपालको खोप सल्लाहकार समितिले पनि अनुमति दिनुपर्ने हुन्छ, अनि मात्रा प्रयोग गर्न मिल्छ । “डब्लुएचओले नियमित रुपमा खोपको प्रभावकारीताबारे अध्ययन गरिरहेको हुन्छ,” उहाँले भन्नुभयो, “डब्लुएचओले गरेको अध्ययनमा बुस्टर डोजका लागि प्रयोग गर्न मिल्छ भनेपछि मात्र हामीले प्रयोग गर्दर्छौँ ।” चीन सरकारले सन् २०२२ मार्च २६ र २८ तारिखमा करिब ४० लाख मात्रा ‘साइनोभ्याक’ खोप उपलब्ध गराएको थियो ।
