काठमाडौँ महानगरपालिकाले नमुना विद्यालय सञ्चालनके लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र सहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले योजना छ । नमुना विद्यालय सञ्चालनका लागि नयाँ विनियमावली आवश्यक पर्ने भएकाले सोही अनुसार काम भइरहेको कामपाले जनाएको छ । कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये कामपाले ऐतिहासिक दरबार हाई स्कुल, भानु, संस्कृत र कन्या माविलाई नमुना विद्यालयका रुपमा घोषणा गरेको छ । कामपाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यी विद्यालयलाई नमुना विद्यालय घोषणा गरेको हो । उक्त विद्यालयलाई थप गुणस्तर र अन्य विद्यालयभन्दा अतिरिक्त कार्यक्रम सञ्चालनका लागि यस वर्ष रु एक करोड बजेट विनियोजन गरेको छ । घोषणा गरिएका ती नमुना विद्यालयमा विशेषगरी ऐतिहासिक सम्पदा, सहरी कृषि र कलाको आवश्यकता र महत्वका बारेमा विद्यार्थीलाई अतिरिक्त समय मिलाएर पठनपाठन गराइने कामपा शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिनुभयो । सल्लाहकार अर्यालले भन्नुभयो, “नमुना विद्यालय भएसँगै उक्त विद्यालय अन्यभन्दा फरक र गुणस्तरीय हुन जरुरी छ, त्यसका लागि कामपा प्रयासरत छ ।”