काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ । जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा बसोबास गर्ने नागरिकका लागिसमेत सहज स्वास्थ्य सेवा प्रदान भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । स्वास्थ्य सेवा सबल बन्दै जाँदा स्वास्थ्य कार्यालयमा हालै वाग्मती प्रदेशस्तरीय समीक्षा कार्यक्रममा प्रथमसमेत भएको छ । “सहज स्वास्थ्य सेवा प्रदान गर्ने गरी जिल्लास्तरीय कार्यदिशासहित अघि बढ्दा जिल्लामा स्वास्थ्य सेवाको अवस्था सुधारोन्मुख बन्दै गएको छ”, कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंले भन्नुभयो । उहाँका अनुसार ‘नवीनतम प्रयासको गुणस्तर, प्रणालीगत व्यवस्था र दिगोपनाको सम्भावना’ मूल नाराका साथ कार्यालयले सुरु गरेको अभियानले सार्थकता पाउँदै गएको हो । कार्यालयद्वारा बिगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षाअनुसार जिल्लामा एक हजार नौ सय ६१ स्वास्थ्य संस्थामार्फत सेवा उपलब्ध गराइएको छ । तेह्र स्थानीय तहमा २६ एम्बुलेन्स सञ्चालनमा रहेको तथा यी एम्बुलेन्समार्फत गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क सेवा सुरु गरिएको छ । साथै, केही स्थानीय तहले ज्येष्ठ नागरिक तथा अशक्त तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका छन् ।