नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याउनुभएको हो । भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको हो । यसै वर्षबाट उत्पादन बजारमा आएको हो । नेपाल सेरामिक इण्डष्ट्रिज प्रालिले नेपोभिट ब्राण्डमा टायल उत्पादन गरेको छ । उद्योगका प्रबन्ध निर्देशक मनोज रौनियारका अनुसार हाल टायललाई आवश्यक पर्ने ५० प्रतिशत माटो नेपालकै प्रयोग गरिएको छ । केही महिनापछि नै पूर्णरुपमा नेपाली माटोबाटै टायल उत्पादन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । बारा, मकवानपुर र दोलखा लगायतका जिल्लाबाट माटो ल्याएर उत्पादन गरिएको छ । दश बार प्रकारको माटो त्यहाँबाट ल्याएर परीक्षण गर्दै प्रयोग गरिएको छ । टायलमा प्रयोग गरिने रङ र ग्लेज भने विदेशबाट आयात गर्ने गरिन्छ । सुरुको तीन महिना पूरै माटो भारतको राजस्थानबाट ल्याइएको भए पनि क्रमशः नेपाली माटोको खोजी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक हजार दुई सय डिग्री तापक्रम दिँदा भारतीय माटो ३२ प्रतिशत पग्लियो भने नेपाली माटो ४५ प्रतिशत पग्लियो । नेपाली माटो टायलका लागि उत्तम देखियो ।”