धार्मिक र पर्यटकीयस्थल साप्सुधाप प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । पूर्वको प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको यो स्थान प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको हो । यहाँ दर्शन गरे चिताएको पुग्ने जनविश्वास रहेकाले विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । यहाँ दर्शनका लागि भोजपुर, खोटाङ, धनकुटा, सोलुखुम्बु, विराटनगर, काठमाडौँलगायत ठाउँबाट मानिस आउने गरेको स्थानीयवासीको भनाइ छ । भोजपुरको चखेवा भञ्याङबाट करिब १० किलोमिटर टाढा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने यो मन्दिरमा दर्शन गरे चिताएको पुग्ने स्थानीयवासी रुद्रबहादुर कठायतले बताउनुभयो । यहाँ प्रत्येक वर्षको जनैपूर्णिमामा मेला लाग्ने गरेको छ । “साप्सुधापको निकै ठूलो धार्मिक महत्व छ”, उहाँले भन्नुभयो, “यहाँ देशका धेरै ठाउँबाट मानिस आउने गरेका छन् । यहाँ दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।” मानिसले गरेको कामको सफलताका लागि साप्सुधापको भाकल गर्ने गरेको र सन्तान नभएका दम्पतीहरूको सन्तान पनि प्राप्त हुने विश्वास गरिन्छ । धापसम्म पुग्न नसक्ने मानिस साप्सुखोला तथा अन्य ठाउँबाट साप्सुधापतिर फर्केर पूजा आराधना गर्ने चलन रहेको कठायतले जानकारी दिनुभयो ।