राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ । निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२÷०७३ मा यस सडक कालोपत्रेका लागि सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो । तर पछि त्यस कम्पनीबाट श्रेष्ठ निर्माण कम्पनीका श्रेष्ठले कालोपत्रे गर्ने जिम्मा लिनुभयो तर उहाँले अहिलेसम्म आधा काम पनि पूरा गर्न सक्नुभएको छैन । सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले स्थानीय आजित भएका छन् । बागलुङवासीको लाइफलाइनका रुपमा रहेको लोकमार्गको ट्रयाक खुलेको २५ वर्ष भयो । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो । अहिले सडकको अवस्था बेहाल छ । सडकको धुलो र हिलोले गर्दा स्थानीय बसाइँसराइ गर्न बाध्य भएको स्थानीय हरिलाल कँडेलले बताउनुभयो । उहाँले सडक छेउका घर हिउँदमा धुलो र बर्खामा हिलोले पुरिने गरेको बताउनुहुन्छ । धुलोका कारण स्थानीयको उठीबास लागेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बिहुँ सुन्तला पकेट क्षेत्र हो, यो सडकका कारण सुन्तला राम्रोसँग उत्पादन हुन पाएका छैनन्, अहिले पनि बोटमा फलेका फल सबै धुलोले ढाकिएका छन्, यस्तो सुन्तला बजार लगेर पनि बिक्री हुँदैनन्, यहाँका किसान धेरै मर्कामा परेका छन्, सडकका छेउमा भएका घाँसपात पनि धुलैधुलो र हिलैहिलो हुँदे गर्दा पशु चौपायले पनि खाँदैनन्, यहाँका सयौँ स्थानीय घरबारी छोडेर अन्तै जान बाध्य भएका छन् ।”
