अष्ट्रेलियाबाट नेपाल भ्रमणमा आउनुभएकी कार्टलक्स र उहाँका पति ओमरान जोन भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दत्तात्रय मन्दिरको डबलीमा बसेर महामाली नाच हेर्दा निकै मख्ख देखिन्थे । दत्तात्रय मन्दिर आसपमासमा शनिबार साँझ विद्युतीय बत्तीले झिलीमिली बन्दा देखिएको आकर्षक दृश्यमा भक्तपुर नगरपालिकाले प्रदर्शन गरेको सांस्कृति कार्यक्रमअन्तर्गत विदेशी पर्यटक महामाली नाच निकै चाख लिएर हेरिरहेका थिए भने नाचको तस्वीर लिन व्यस्त देखिन्थे । दत्तात्रय मन्दिर परिसरमा स्थानीयवासी दिउँसैदेखि लागेको भीड साँझ झन् बाक्लिँदै जाँदा मेला लागेको अनुभूति हुन्थ्यो । स्देशीहरूको त्यो भीडमा करिब ४० विदेशी पर्यटक पनि रुमलिँदै थिए । भक्तपुर नगरपालिकाले यहाँ प्रदर्शन गरेको विभिन्न सांस्कृतिक एवं परम्परागत नाच अवलोकन गर्दै यःमरि र अन्य नेवारी परिकारको स्वाद चाख्न व्यस्त देखिन्थे । अमेरिकन नागरिक अल्बर्ट स्टेन्टसहितका चार अमेरिकन नागरिक पनि माक प्याख र घिन्ताङघिसी नाच हेरे निकै मख्ख देखिन्थे । यहाँ भेला भएका अधिकांश विदेशी नागरिक यहाँको रात्रिकालीन समयमा प्रस्तुत गरिएका विभिन्न नाच हेरेर निकै रौसिएका थिए । रात्रिकालीन पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले शनिबार साँझ आयोजना गरेको सन्ध्याकालीन सांस्कृतिक पदयात्रा, यःमरि प्रदर्शनी, खाद्य उत्सव तथा सांस्कृतिक प्रस्तुतिमा स्वदेशी तथा विदेशी पर्यटक रमाएका हुन् ।