कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्ड निर्माणको समय सकिन एक महिनामात्रै बाँकी छ तर सडकको स्तरोन्नति गर्ने कामको प्रगति न्यून देखिएको छ । उनन्तीस दशमलव सात किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी सुरु गरिएको स्तरोन्नतिको कामको पहिलो खण्डको प्रगति केही देखिए पनि दोस्रो र तेस्रो खण्डको प्रगति न्यून छ । सम्झौता भएको मितिको लगभग ९५ प्रतिशत समय सकिँदा पनि पहिलो खण्डको करिब ६५ प्रतिशत तथा दोस्रो र तेस्रो खण्डको करिब ३० प्रतिशत मात्र काम सकिएको छ । तीस महिनाभित्र काम सम्पन्न गर्नेगरी गरिएको सम्झौताको अहिले २९ महिना सकिएको छ । अहिलेसम्मको कामको प्रगति हेर्दा अबको बाँकी एक महिनाको समयमा काम सम्पन्न हुने सम्भावना छैन । सडक निर्माण कम्पनीले दु्रत गतिमा काम गरेमा पहिलो खण्डको आगामी जेठ मसान्तसम्म र अन्य दुई खण्डको करिब एक वर्षभित्र काम पूरा हुने सम्भावना रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सविन जोशीले बताउनुभयो । “समयमै काम सकिने सम्भावना टरेको छ, अब तीव्रगतिमा काम गरेमा सबै सडक निर्माण सकिन करिब एक वर्ष लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “पहिलो खण्डको काम तीव्र गतिमा हुँदैछ, पहिलो खण्डका लागि धेरै समय आवश्यक छैन, अन्य खण्डका लागि करिब एक वर्ष लाग्छ ।”