चुलोचौकामा सीमित रहने कालीकोटका महिला अहिले विकास निर्माण र सामाजिक काममा अग्रसर हुनु थालेका छन् । कालीकोटमा अधिकांश पुरुष हिउँदे बाली लगाएपछि रोजीरोटीका लागि कामको खोजीमा भारतलगायत अन्य मुलुकमा जाने भएकाले यहाँका महिलाहरू विकास निर्माणको कामदेखि सामाजिक कामसम्म आफैँ अग्रसर हुन थालेका हुन् । प्रायः पुरुषहरू रोजगारीका लागि भारत, खाडी मुलुक तथा नेपालका अन्य सहरमा जाने भएकाले गाउँमा महिलामात्र रहेकाले सबै काम महिलाले गर्नुपर्ने अवस्था रहेको कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंह (संज्याल) बताउनुहुन्छ । “पुरुषहरू घरमा भए पनि काम गर्नलाई अग्रसर हुँदैनन्”, उहाँ भन्नुहुन्छ, “चुलोचौकादेखि अन्य सबै काम महिलाले नै गर्नुपरेको छ ।” पुरुषहरु घरमा भए पनि जुवातास, रक्सीमा व्यस्त हुने गरेका कारणले सबै काम आफूहरूले नै गर्नुपरेको रास्कोट नगरपालिका पूर्व उपप्रमुख मिमसरा शाही बताउनुहुन्छ । घरमा रहेका पुरुष पनि विकास निर्माण र सामाजिक काममा त्यति अग्रसर नहुने भएका कारणले महिलाले नै सबै काममा अग्रसर हुने गरेको उहाँको भनाइ छ ।