प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताउनुभएको छ । उन्नाइसौँ राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापू समुदायको उल्लेख्य योगदान रहेको बताउनुभयो । “ज्यापु समुदायका जात्रा पर्व, सांस्कृतिक गतिविधि र कला कौशल नेपालका अमूल्य निधि हुन्, ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, सीप र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो”, उहाँले भन्नुभयो, “यस्ता महत्वपूर्ण संस्कृति र सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु र विलीन हुनबाट जोगाउनु हामी सबैको कर्तव्य हो ।” ज्यापु समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहँदै आएको स्मरण गर्नुभयो । नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका रूपमा रहेको उहाँको भनाइ छ ।