महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाजलाई जगाउन सकिएन भने लैङ्गिक हिंसा रोक्न नसकिने भएकाले सामाजिक जागरणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । महिला हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला, कानुन र विकास मञ्चलगायतका संस्थाले संयुक्तरुपमा आज आयोजना गरेको ‘लैङ्गिक हिंसाको सम्बोधन र सेवा प्रवाहमा प्रभावकारिता’ विषयक अन्तक्र्रियामा उहाँले कानुन बनाएर र सरकारले गरेर पनि लैङ्गिक हिंसा रोक्न नसकिएकाले सामाजिक जागरणमै जोड दिनुपर्ने बताउनुभयो । “लैङ्गिक हिंसाको कार्यक्रमको स्वरुपमा परिवर्तन गरिनुपर्छ, ३० वर्षसम्म महिलालाई मात्र राखेर कार्यक्रम गरियो, यसले भएन, राजनीतिक दलले जागरणमूलक सन्देश दिनुपर्छ, अबको कार्यक्रम कार्यान्वयन गर्ने दलको पनि सक्रियतामा कार्यक्रम अघि बढाइनुपर्छ”, मन्त्री रेग्मीले भन्नुभयो । महिला, बालबालिका र ज्येष्ठ नागरिक गरी ८० प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्ने मन्त्रालयलाई रु ८० करोड मात्र बजेट विगतका वर्षमा विनियोजन भइरहेकामा चालु आर्थिक वर्षदेखि आफूले रु एक अर्ब ७८ करोड विनियोजनको वातावरण मिलाएको जानकारी पनि उहाँले गराउनुभयो । मन्त्रालयलाई कम्तीमा पनि रु पाँच अर्ब बजेटको व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो । पाँच अर्ब बजेट भएमात्र यस क्षेत्रमा आवश्यक काम गर्न सकिने मन्त्री रेग्मीको भनाइ छ ।