सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट करिब रु दुई अर्ब ५७ करोड प्राप्त हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । नगद लेखाप्रणालीमा आधारित वित्तीय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयनमा ल्याउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । बैठकले कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल (गोरखा)लाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल सरकारद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिइयो ।