दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीबाट केपिलासगढी गाउँपालिका-३ बास्पानी हुँदै बाक्सिलाबजार जोड्ने सडकको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ । प्रदेश नं १ को प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रु सात करोड ६१ लाख २४ हजार पाँच सय ४३ बजेटमा निर्माण गरिएको मोटरेबल पक्की पुल हालै सञ्चालनमा आएको हो । विसं २०६६÷६७ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा ढिलै भए पनि मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइएपछि स्थानीय बासिन्दालाई सहज भएको छ । रौता-रोशन-सुशम-आदित्य जेभीले विसं २०७८ मङ्सिर-७ गते सम्पन्न गर्ने भनिएपछि कोरोना महामारीका कारण लागू भएको लकडाउनका कारण निर्माणमा ढिलाइ भएको थियो । विसं २०६६ मा साविक खार्मी गाविसको रु १४ लाख बजेटबाट निर्माण सुरु गरिएको दिक्तेल–खार्मी–बाक्सिला सडक विसं २०७७ मा पूरा गरेर सञ्चालनमा ल्याइएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट उत्तरी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिलाबजार जोड्ने सबैभन्दा छोटो दूरीकोे दिक्तेल-खार्मी-बाक्सिला सडकखण्डको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल ३५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको छ ।