इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत विजयी हुनुभएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचित हुनुभएको हो । बस्नेतले २५ हजार सात सय ५० मत प्राप्त गर्नुभएको छ भने खनालले २३ हजार ८८ मत पाउनुभएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो । उहाँले आधिकारिक घोषणा भने सोमबारमात्र गर्ने बताउनुभयो । अधिकृत दाहाल भन्नुभयो, “हाल समानुपातिक तर्फको मतगणना भइरहेको छ । कतिपय मतदाताले प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको ब्यालेट बक्समा खन्याएको पाइएकाले अन्तिम नतिजा भोलि मात्र सार्वजनिक गर्छौँ ।” बस्नेत जनसांस्कृतिक मञ्च हुँदै एमाले राजनीतिमा आउनुभएको थियो । उहाँ इलाम नगरपालिकाको दुई कार्यकाल मेयर भइसक्नुभएको छ । बस्नेत नेपाल नगरपालिका सङ्घको प्रदेश–१ संयोजकसमेत हुनुभएको छ ।