नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा निर्वाचित भएसँगै राससलाई दिनुभएको प्रतिक्रियामा उहाँले भन्नुभयो, “रुपन्देहीका जनताले आफूलाई यसपटक पनि अनुमोदन गरेबाट विकासप्रति यहाँका मतदाताको आकाङ्क्षा झन् प्रकट भएको महसुस गरेको छु, जताका विकासका आकाङ्क्षा पूरा गर्नेछु ।” उहाँले रुपन्देही जिल्लासहित बृहत् लुम्बिनी क्षेत्रको व्यवस्थित र दीर्घकालीन विकासमा जोड दिने प्रतिबद्धता आफूले निर्वाचनका बेला जनतासँग गरेको र आगामी दिनमा अब सोहीबमोजिम नै काम अघि बढाउने पनि बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र सँगैसँगै सिङ्गो रुपन्देही जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पौडेलले रुपन्देहीलाई विकासको नमुनाका रुपमा विकास गर्ने बताउँदै आउनुभएको छ । उहाँले आफू अर्थमन्त्री भएका बेला विविध आयोजनाहरुसहित रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेको पनि उल्लेख गर्नुभयो । “हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ, विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले अब विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको एक प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदैछौँ”, उहाँले बताउनुभयो ।