कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित गर्नुुभएको हो । कालीकोटमा खसेको कुल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले २३ हजार ८७ मत प्राप्त गर्नुभयो । उहाँका निकटम् प्रतिद्वन्द्वी एमालेका नगेन्द्रले १६ हजार २३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले एक हजार ८९, नेपाली कांग्रेस (विपी) का पङ्खबहादुर विष्टले एक सय ४० तथा स्वतन्त्रद्वय काशीचन्द्र बरालले आठ सय ९३ र धनप्रसाद पाण्डेले ७९ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकतृ भरत लम्सालले जानकारी दिनुभयो । कालीकोटमा दुई हजार ४१ मत बदर भएको थियो ।