इसाउन १६ नेपाल ।

क्षेत्री समाज नेपाल, केन्द्रीय कार्यसमितिले देशमा बढ्दै गएको धार्मिक असहिष्णुता र उत्तेजनात्मक गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै सबै नागरिकलाई संयम अपनाउन अपिल गरेको छ।

समाजले मिति २०८२/०४/१६ मा जारी गरेको विज्ञप्तिमा सुनसरीको देवानगञ्जबाट सुरु भएको धार्मिक विवादले विभिन्न जिल्लामा सामाजिक सद्भाव र एकतामा खल पुगेको उल्लेख गरेको छ। यसले मुलुकको शान्ति र सुरक्षामा समेत समस्या उत्पन्न गरेको भन्दै समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

क्षेत्री समाज नेपालले “राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षेत्री एकता-आजको आवश्यकता” भन्ने नारालाई आत्मसात गर्दै सबै क्षेत्रीहरूलाई मात्र नभई सम्पूर्ण नागरिकलाई ५ बुँदे अनुरोध गरेको छ:

समाजका ५ बुँदे अपिल:
१. कुनै पनि धर्म, जाति वा समुदायप्रति घृणा, हिंसा वा वैमनस्य फैलाउने गतिविधिमा संलग्न नहुन
२. सबै धर्म र संस्कृति प्रति समान सम्मान र सहिष्णुता कायम राख्न
३. कुनै पनि विवाद को समाधान संविधान, कानून, संवाद र शान्तिपूर्ण माध्यमबाट खोज्न
४. असत्य र उत्तेजनात्मक सामाजिक सञ्जालका सामग्री नहेरी आधिकारिक स्रोतबाट मात्र सूचना लिन
५. सबै पक्षले संयम, सहकार्य र जिम्मेवारीका साथ सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न

समाजले नेपाल सरकार समक्ष पनि शान्ति, सुरक्षा र सुशासन कायम राख्न, संविधान र कानूनको निष्पक्ष कार्यान्वयन गर्न तथा सुनसरी घटनाका घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन हार्दिक अपिल गरेको छ।

विज्ञप्तिमा क्षेत्री समाज नेपाल केन्द्रीय समितिका अध्यक्ष रिव बहादुर थापा र सचिव शिव बहादुर थापाको हस्ताक्षर रहेको छ।